Jeevan Marg

Full exercise of Jeevan Marg | Class 12 Nepali Notes NEB | Summary | Guide


जीवन मार्ग

शब्दभण्डार


१. शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

मौलिक : कसैको आधार नलिएको, सिर्जनात्मक
बाहुल्य : धेरै हुनाको भाव वा अवस्था
जतन : सुरक्षित
चिनो : चिह्न, निसान
निर्यात : स्वदेशबाट विदेशमा सामान पठाउने काम
वर्चस्व : आफ्नो अधिकार बाहिरको कुरामा गरिने दखल
मूर्त : स्पष्ट आकार भएको
किनिमा : भटमासबाट बनाइएको एक प्रकारको परिकार
मकर नुहाउनु : माघे सङ्क्रान्तिमा नुहाउने काम
हस्तक्षेप : नियन्त्रण, अधिकार
फत्ते : सम्पन्न, पूरा

४. दिइएका शब्दको अर्थ लेख्नुहोस् :

परिकल्पनाकार : पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा अड्कल वा धारणा गर्न सक्ने व्यक्ति
आना : सोह्र भागको एक भाग
धुर : एक कट्ठाको बिसौ भाग जमिनको परिमाण
आत्मनिर्भर : बाँच्नका लागि अरूको भर पर्नु नपर्ने
आयात : विदेशबाट खरिद गरिएको
एकाधिकार : एकलौटी अधिकार, एकाधिपत्य
कृत्रिम : प्राकृतिक वा स्वाभाविक नभएको
अर्गानिक : जीवसँग सम्बन्धित प्रक्रियाहरू वा जीवित जीवहरू समावेश गर्ने प्रक्रियाद्वारा उत्पादित
जोखिम : शारीरिक, मानसिक हानिनोक्सानी हुन सक्ने डरलाग्दो काम
विकल्प : पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम

५. शब्दकोशको सहायताबाट उदाहरणमा दिए झैँ तलका शब्दको शब्दवर्ग, शब्दस्रोत र अर्थ लेख्नुहोस् :

शब्द शब्दवर्ग शब्दस्रोत अर्थ
असल वि. (विशेषण) अ. (अरबी) राम्रो, उत्तम
विकास ना. (नाम) सं. (संस्कृत) उन्नति, प्रगती
इष्ट वि. (विशेषण) सं (संस्कृत) इच्छा गरिएको
स्कुल ना. (नाम) अड् (अङ्ग्रेजी) विद्यालय
किनामा ना. (नाम) लि. (लिच्छवीय) भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखिएको खाद्य पदार्थ
चिया ना. (नाम) चि. (चीनदेशीय) सेता फूल फुल्ने, एक थरी बाहमासे बुटोका कलिला पातका मुना सुकाएर तयार पारिएको पत्ती



Download our mobile app for offline access to notes directly from your phone.

App Store Icon Play Store Icon

बोध र अभिव्यक्ति


१. रिपोर्ताज पाठ पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) चोमोलुङ्मा औद्योगिक प्रतिष्ठान कस्तो प्रतिष्ठान हो ?

चोमोलुङ्ग औद्योगिक प्रतिष्ठान नेपालको मौलिक पहिचान झल्काउने र स्थानीय कच्चा सामनको सदुपयोग गर्दै उद्योग स्थापना गरेको प्रतिष्ठान हो ।

(ख) चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान किन लोकप्रिय भए ?

चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान नेपालको मौलिकता र पहिचानमा आधारित भएकाले लोकप्रिय भए ।

(ग) छिरिङको पारिवारिक पृष्ठभूमि कस्तो छ ?

छिरिङको परिवारमा छिरिङ, बाबाआमा र भाइबहिनीहरू छन् । थोरै मात्र जग्गा जमिन भएको छिरिङको परिवारमा बुबाले भारी बोक्ने काम र आमाले घरको काम गरेर मुस्किलले जीवन कटेको थियो । त्यसैले आर्थिक दृष्टिकोणले दयनीय छिरिङको न्यून मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि कमजोर छ ।

(घ) किन छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ?

जग्गा प्लटिङको व्यवसायबाट पैसा कमाइए पनि खेतीयोग्य जमिन मासेर कड्कूटको जङ्गल बनाउने र नेपाली कमाईलाई बर्बाद बनाउने भएकाले छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ।

२. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) नेपाली मौलिक उत्पादनको बजार कस्तो छ ?

हामी नेपालीहरूको पहिचान हाम्रो मौलिक र परम्परागत जीवनशैली हो। यसलाई जोगाइराख्न नेपाली मौलिक उत्पादनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन आवश्यक छ। विश्वभर फैलिएका नेपालीहरूले जहाँ पुगे पनि आफ्नो मौलिकता बिर्सेका छैनन् र सम्भव भएसम्म आफ्नै मौलिक वस्तु प्रयोग गर्न रुचाउँछन्। त्यसैले नेपाली मौलिक उत्पादनको बजार विश्वभर फैलँदो र राम्रो सम्भावना भएको छ।

(ख) पाठमा प्रतिस्पर्धी थपिँदैमा आत्तिनु पर्दैन किन भनिएको हो ?

आजको विश्वव्यापीकरणको युगमा हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन्छ र कसैको एकाधिकार रहँदैन। प्रतिस्पर्धी बजारमा टिक्न उत्पादन राम्रा, उपयोगी र गुणस्तरीय हुनुपर्छ। यदि वस्तु मौलिक, पहिचान झल्किने तथा अर्गानिक र प्राकृतिक भएमा ती विश्वभर फैलिन्छन् र विदेशमा रहेका नेपालीहरूले पनि खोजीखोजी किन्छन्। बजार विस्तार भइरहेकाले एउटै उद्योगले सबैको माग पूरा गर्न सक्दैन, त्यसैले प्रतिस्पर्धी बढ्दैमा डराउनुपर्ने आवश्यकता हुँदैन।

३. किन लेखक चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए, लेख्नुहोस् ।

‘जीवन मार्ग’ शीर्षकको यो रिपोर्ताजमूलक रचनाले राष्ट्रियता र उद्यमशीलताको भावना जगाउने सन्देश दिन्छ। आजको विश्वव्यापी प्रतिस्पर्धाको युगमा कुनै पनि उद्योगको बजारमा एकाधिकार हुँदैन। त्यसैले मौलिक, अर्गानिक र प्राकृतिक वस्तु उत्पादन गर्न सके ती विश्वभर फैलिन्छन्, सजिलै बिक्छन् र औद्योगिक विकाससँगै राष्ट्रिय समृद्धि पनि बढ्छ भन्ने मुख्य विचार यसमा व्यक्त गरिएको छ।

यस रचनामा चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानले नेपालको मौलिकता, स्रोतसाधन, श्रम र सीपको प्रयोग गरेर उत्पादन गरेका वस्तु स्वदेश र विदेशमा लोकप्रिय बनेको तथ्य प्रस्तुत गरिएको छ। आज गाउँसहर जताततै यसका उत्पादनको चर्चा हुन्छ र देश-विदेशमा रहेका नेपालीका घरमा पनि यी सामान पुगेका छन्। विदेशमा रहेका साथीहरूसँगको भिडियो कुराकानीमा समेत नेपाली उत्पादनले कोठा सजिएको देखिन्छ, जसमा चोमोलुङ्माका सामान बढी देखिन्छन्। नेपाल आउने धेरै विदेशीले पनि यी वस्तु नेपालको चिनोका रूपमा लैजान थालेका छन्।

लेखकको आफ्नै घरमा पनि सुरुमा बाँसका घरेलु सामग्रीहरू ल्याइए, पछि अन्य घरायसी सामान, हस्तकला र खाद्य पदार्थहरू थपिँदै गए। बिस्तारै घरमा चोमोलुङ्माका उत्पादन धेरै हुन थाले। यही लोकप्रियता र आफ्नै अनुभवका कारण लेखकले चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानबारे रिपोर्ताज लेख्ने रुचि देखाएका हुन्।

४. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘देखासिकी गरी खा आरिसे मरी जा’ भन्ने उखानको तात्पर्य के हो ?

‘देखासिकी गरी खा, आरिसे मरी जा’ भन्ने उखानको अर्थ अरूका राम्रो कामको अनुकरण गर्ने मानिसले जीवनमा प्रगति र सफलता प्राप्त गर्छ, तर अरूको प्रगतिमा रिस, डाहा र ईर्ष्या गर्ने व्यक्ति भने पछाडि पर्छ भन्ने हो। यस उखानले नगर्नुभन्दा केही गर्नु राम्रो हुन्छ भन्ने सन्देश दिन्छ। मानिसले समय र श्रमको महत्व बुझेर कर्ममा लाग्नुपर्छ। अरूले गरेको राम्रो काम देखेर त्यसबाट सिक्नु र आफूले पनि त्यस्तै प्रयास गर्नु नै देखासिकी हो। यदि आफूले मौलिक काम गर्न नसके पनि अरूका राम्रो कामको अनुकरण गरेर अगाडि बढ्न सकिन्छ। यसले मानिसलाई मेहनती र कर्मयोगी बनाउँछ। तर अरूको प्रगतिमा डाहा गर्ने मानिसले कहिल्यै शान्ति र सफलता पाउन सक्दैन। ईर्ष्या र जलनले उसलाई मानसिक रूपमा कमजोर बनाउँछ र उसको प्रगति रोक्छ। त्यसैले अरूका राम्रो कामबाट सिकेर, सकारात्मक सोच राखेर र मेहनत गरेर जीवनलाई सफल बनाउनु नै ‘देखासिकी गरी खा, आरिसे मरी जा’ भन्ने उखानको मुख्य सन्देश हो।

(ख) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?

आफ्नै देशको मौलिकता, स्रोतसाधन, श्रम र सीप प्रयोग गरी उद्योग खोल्नु र गुणस्तरीय सामान उत्पादन गरेर विश्व बजारमा बेच्न सक्दा मात्र हामी आत्मनिर्भर बन्न सक्छौं र देश विकास र समृद्धितर्फ अगाडि बढ्न सक्छ। तर जति धेरै उत्पादन हुन्छ, त्यति नै फाइदा स्वतः हुँदैन। गुणस्तरमा सम्झौता नगरी स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनु नै लाभ पाउने मुख्य उपाय हो। औद्योगिक क्रान्ति गरेर उत्पादन बढाउनु आवश्यक भए पनि, अधिक फाइदा लिनका लागि सामग्री गुणस्तरीय हुनुपर्छ र उद्योगबीच सहकार्य र प्रतिस्पर्धा कायम हुनुपर्छ। यसले विश्वब्यापीकरणको बजार व्यवस्थापनमा मद्दत पुग्छ, बिक्री–वितरण सजिलो बनाउँछ र उद्योगले धेरै लाभ लिन सक्छ।

५. विभिन्न देशको भ्रमणबाट छिरिङले कस्तो शिक्षा पाए, लेख्नुहोस् ।

चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानका मुख्य परकल्पनाकार, परियोजनाकार, मूल लगानीकर्ता र निर्देशक छिरिङ सामान्य पारिवारिक पृष्ठभूमिमा जन्मिएका थिए। सानै उमेरमा बुबा गुमाएपछि उनले परिवारको जिम्मेवारी लिए र पढाइ खर्च जुटाउँदै प्रवेशिका पास गरे। पछि शिक्षक बने र स्नातक गरेपछि सरकारी जागिरमा काम गरे। केही समय उनले जागिर छोडेर ट्रेकिङ व्यवसायमा लागे र यस क्रममा विभिन्न देशको भ्रमण गरे। जापानमा केही वर्ष काम गर्दा उनले श्रमको महत्व बुझ्न पाए र आफ्नो देशमै केही गर्न सकिने शिक्षा पाए। छिरिङले विदेश भ्रमण र अनुभवबाट सिके कि नेपालको मौलिकता, पहिचान, स्रोत साधन र श्रमशक्ति सदुपयोग गरेर उद्योग खोल्न सकिन्छ। ती उद्योगबाट उत्पादित गुणस्तरीय सामान विश्व बजारमा बेच्दा आत्मनिर्भर बन्न सकिन्छ र देश विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्छ।

६. छिरिङको जीवनी सङ्घर्षबाट के शिक्षा लिन सकिन्छ, आफ्नो विचार लेख्नुहोस् ।

‘जीवन मार्ग’ रिपोर्ताजमूलक रचनामा प्रस्तुत छिरिङले एक सफल उद्यमी बन्ने प्रेरणा दिन्छ। उनी नेपाल र नेपालीको समृद्धि चाहने, संघर्षशील र दूरदर्शी व्यक्तित्वका धनी थिए। निम्न वर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेका छिरिङ बाबुआमाका जेठा छोरा थिए। सानै उमेरमा बुबा अनपेक्षित रूपमा मृत्यु भएपछि उनले परिवारको जिम्मेवारी लिए र बुबाले सुरु गरेका काम अघि बढाए।

सुरुमा उनी भारी बोकी जीवन यापन गर्थे, तर एकदिन विदेशी पर्यटकको सहयोगले छात्रवृत्ति पाए। विद्यालयमा सरसफाइ गर्ने कामसँगै पढाइ जारी राख्दै प्रवेशिका पास गरे। पछि शिक्षक र सरकारी जागिर गर्ने अवसर पाए। जागिर छोडेर ट्रेकिङ व्यवसायमा लाग्दा उनी विभिन्न देशको भ्रमण गरे र जापानमा केही वर्ष काम गर्दा समय, श्रम र स्रोतको महत्व बुझे।

जापान फर्केपछि उनले खेतीयोग्य जमिन मासी कङ्क्रिटको जंगल विस्तार जस्ता पेसा मन पराएनन्। त्यसपछि उनले नेपालको मौलिकता, स्रोत साधन र श्रमशक्ति प्रयोग गर्दै चोमोलुङ्मा औद्योगिक प्रतिष्ठान खोले। यहाँ उत्पादन भएका सामान स्वदेश र विदेशमा लोकप्रिय भए र उनी सफल उद्यमी बने।

छिरिङको जीवनले देखाउँछ कि जीवन भनेको संघर्ष हो। जस्तोसुकै कठिन परिस्थितिमा पनि अविचलित भई मेहनत गर्ने व्यक्ति मात्र सफल हुन्छ। उद्यमीले गुणस्तरमा सम्झौता नगर्नु पर्छ, स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ। नयाँ विचारको परिकल्पना गर्न सक्नुपर्छ, जोखिम लिन तयार हुनुपर्छ र परिश्रम गर्नु नै सफलताको मूल आधार हो।

छिरिङको संघर्षबाट हामीले सिक्न सक्ने मुख्य शिक्षा भनेको अरूको राम्रो काम देखेर सिक्न सकिन्छ, तर ईर्ष्या र डाहा हुनु हुँदैन। आफ्नो देशको मौलिकता र स्रोत साधन प्रयोग गरेर उद्योग खोल्न सकिन्छ र यसबाट विकास र समृद्धि हासिल गर्न सकिन्छ।

७. दिइएका उद्धरणको व्याख्या गर्नुहोस् :

(क) “हामीकहाँ नयाँ कुराको परिकल्पना गर्ने, जोखिम मोल्नेभन्दा पनि अरुले गरेको हेरेर त्यसैले अनुसरण गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन छ।”

प्रस्तुत अंश ‘जीवन मार्ग’ शीर्षकको रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो, जसमा आर्थिक विकास र समृद्धिका लागि उद्योग र उद्यमशीलताको महत्व चित्रण गरिएको छ। यसमा सङ्घर्षशील र सफल उद्यमी छिरिङको चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानको सफलता र लोकप्रियता प्रस्तुत गरिएको छ। बजार विस्तारका कारण कुनै एक उद्योगले मात्र सबैको आवश्यकता पूरा गर्न सक्दैन; प्रतिस्पर्धी बढ्दा डरिनु आवश्यक छैन भन्ने कुरा पनि यसमा व्यक्त गरिएको छ। साथै, रचनात्मक काम गर्नुभन्दा अरूको नक्कल गर्ने गलत संस्कारप्रति सङ्केत गरिएको छ।

मानिस सिर्जनशील प्राणी हो र नयाँ सोच, खोज–अनुसन्धान र अनुभवमा रुचि राख्नु स्वभाव हो। नवीन विचार र रचनात्मक कार्यको जन्म नयाँ खोज अनुसन्धानबाट हुन्छ। कुनै परिकल्पना मूर्त रूप दिन ज्ञान, तर्कशक्ति, दृष्टि क्षमता र निरन्तर सङ्घर्ष आवश्यक पर्छ। यसका लागि श्रम, समय र सम्पत्तिको जोखिम लिन सक्नुपर्ने हुन्छ। जोश, उमङ्ग र लगनशीलता पनि आवश्यक हुन्छ। तर नयाँ सोच नभएका, संघर्ष गर्न नसक्ने वा जोखिम लिन डराउने व्यक्ति अरूको कामको नक्कल गर्छन्। यस्तो अवस्थामा न त उनीहरूको मौलिकता रहन्छ न त पहिचान। अरूको नक्कल गरेर सस्तो लोकप्रियता खोज्नेले जीवनमा प्रगति गर्न सक्दैनन्। नयाँ सोच, साहस र परिश्रमबाट मात्र आफ्नो पहिचानसहितको संस्था वा उद्योग स्थापना गर्न सकिन्छ।

कुनै चोकमा एउटा मम पसल राम्रोसँग चलेपछि त्यहाँ एकैसाथ आठ–दश वटा मम पसल खुल्छन्। एउटै मासु पसलले राम्रो बिक्री पाएमा पाँच–सात वटा मासु पसल खुल्छन्। अरू विषयमा मानिसको ध्यान कमै जान्छ। कसैले कुनै उद्योगमा नाफा कमाएको देखेपछि अरूले पनि उस्तै उद्योग खोल्ने चलन हुन्छ। तर सबैले एउटै काम गर्दा सफलता पाउँदैन; विविधता र नयाँ विकल्पको खोज आवश्यक छ। नेपाली समाजमा अस्वस्थ प्रतिस्पर्धा फैलिएको छ, जुन सफल उद्यमी बन्नका लागि राम्रो होइन। चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानका प्रमुख छिरिङले नेपालका मौलिक पहिचान र स्थानीय कच्चा सामानको सदुपयोग गर्दै नयाँ परिकल्पना जोखिम मोलेर लगानी गरे। उनले मौलिक सोचलाई संघर्षसहित मूर्त रूप दिन सफल भई गुणस्तरीय सामग्री उत्पादन र विक्री–वितरण गरे, जसले प्रतिष्ठानलाई सफलता र लोकप्रियता दिलायो।

अतः सफल उद्यमी बन्नका लागि नयाँ विचारको परिकल्पना गर्न र जोखिम मोल्न आँट गर्नुपर्छ। अरूको नक्कल गरेर अस्वस्थ प्रतिस्पर्धा गर्नुले सफलता दिलाउँदैन। मौलिक सोच र स्थानीय स्रोत–साधनको सदुपयोग गरी गुणस्तरीय सामग्री उत्पादन गरेमा उद्योग स्वदेश तथा विदेशमा फैलाउन सकिन्छ र सफल उद्यमी बन्न सकिन्छ।

(ख) “वास्तवमा कलम र हृदय दुवैको मेल भएपछि राम्रो लेख्न सकिने रहेछ।”

प्रस्तुत अंशले साहित्य सिर्जना जन्माउने कटु सत्य उद्घाटन गरेको छ। कलात्मक भावना मात्र पर्याप्त छैन, यदि ज्ञानशक्ति वा बौद्धिक क्षमता कमजोर भएमा हृदयका भावहरूलाई साहित्यमा उतार्न सकिँदैन। बौद्धिकता र हार्दिकताको सम्मिश्रणबाटै उत्कृष्ट साहित्य जन्म्छ।

कलम ज्ञानको प्रतीक हो र बौद्धिकताको व्यक्तिकरण गर्ने माध्यम पनि हो। कलम मार्फत बौद्धिक व्यक्तिले हृदयका भाव, अनुभव, विचार र अनुभूतिलाई शब्दचित्रण गर्छ। महाकवि देवकोटाले भनेझैं, सजीव अनुभवलाई कलमले उजागर गर्दा साहित्य सिर्जना हुन्छ। बौद्धिक क्षमता नभए जतिसुकै भावना भए पनि साहित्यिक मोती टिप्न सकिँदैन। तर बौद्धिक सामर्थ्य र हृदयको गम्भीर भाव मिल्दा शब्दहरू साहित्यिक मधुमाधुरीका रूपमा झुल्किन्छन्, फुलझैँ सुन्दर रास, नवरसयुक्त सिर्जना जन्माउँछ।

‘जीवन मार्ग’ रिपोर्ताजमूलक रचनामा पनि लेखकले कलम र हृदयको मेल गरी मित्नबिन्दुमा समाचार र समाहित्य प्रस्तुत गरेका छन्। यसले पाठकलाई राष्ट्रियताको सन्देश दिँदै उद्यमशील बन्न, विकास र समृद्धिको बाटोमा अघि बढ्न प्रेरित गरेको पाइन्छ।

८. तपाईंलाई छिरिङसँगको वार्ताका आधारमा तयार पारिएको जीवन मार्ग कस्तो लाग्यो, तर्कसहित आफ्नो विचार लेख्नुहोस् ।

छिरिङसँगको वार्ताका आधारमा तयार पारिएको ‘जीवन मार्ग’ मलाई अत्यन्तै शिक्षाप्रद र प्रेरणादायी लाग्यो। यस रिपोर्ताजमूलक रचनामा छिरिङलाई सफल उद्यमी बन्न प्रेरणा दिने प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ। उनी नेपाल र नेपालीको समृद्धि चाहने, संघर्षशील र दूरदर्शी उद्यमी हुन्। छिरिङ निम्न वर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेका बाबुआमाका जेठा छोरा थिए। सानै उमेरमा बुबाको भारी बोक्ने क्रममा निधन भएपछि उनले परिवारको जिम्मेवारी लिए र बुबाले सुरु गरेका काम अघि बढाए। पढाइ रोकिए पनि एकदिन विदेशी पर्यटकको सहयोगले छात्रवृत्ति पाए। विद्यालयमा जागिर गर्दै बाँकी समयमा पढाइ जारी राखे, प्रवेशिका पास गरे, शिक्षक बने र स्नातकपछि सरकारी जागिरे भए।

जागिर छोडेर ट्रेकिङ व्यवसायमा लाग्दा उनले विभिन्न देशको भ्रमण गरे र जापानमा केही वर्ष काम गर्दै समय, श्रम र स्रोतको महत्व बुझे। फर्केपछि उनले खेतीयोग्य जमिन मासी कङ्क्रिटको जंगल विस्तार गर्ने पेसा मन पराएनन्। नेपालका मौलिकता, स्रोत साधन र श्रमशक्तिलाई सदुपयोग गर्दै चोमोलुङ्मा औद्योगिक प्रतिष्ठान खोले। यहाँ उत्पादन भएका सामान स्वदेश तथा विदेशमा लोकप्रिय भए र उनी सफल उद्यमी बने। छिरिङको जीवनले देखाउँछ कि जीवन भनेको संघर्ष हो। जस्तोसुकै कठिन परिस्थितिमा पनि अविचलित भई अथक प्रयास गर्नेले सफलता पाउँछ। आफ्नो देशको मौलिकता, अपार प्राकृतिक स्रोत र श्रम-सिप सदुपयोग गर्दै उद्योग खोल्न सकिन्छ। दुनियाँलाई ठगेर धनी बन्ने होइन, आफूसँगै अरूलाई पनि धनी बनाउने उद्यमी बन्नुपर्छ। गुणस्तरमा सम्झौता नगर्नु, स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनु, नयाँ परिकल्पना गर्न सक्नु, जोखिम लिन तयार हुनु र परिश्रम गर्नु नै सफल उद्यमी बन्ने आधार हुन्।

साथै, केही नगर्नुभन्दा अरूको कामबाट सिक्न सक्ने, ईर्ष्या नगर्ने, र जननी–जन्मभूमि–देशप्रतिको माया राख्ने विचारले पनि जीवन मार्गले पाठकलाई प्रेरणा दिन्छ। यी कारणले छिरिङसँगको वार्तामा तयार पारिएको जीवन मार्ग मलाई अत्यन्तै राम्रो र शिक्षाप्रद लाग्यो।

९. दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

(क) ओलिम्पिक खेलमा नेपालको प्रवेश कहाँबाट भएको हो?

ओलम्पिक खेलमा नेपालको प्रवेश सन् १९६४ मा टोकियो ओलम्पिकबाट भएको हो ।

(ख) ओलिम्पिकमा नेपालको सहभागिता कुन कुन खेलमा हुने गरेको छ?

ओलम्पिकमा नेपालको सहभागिता म्याराथुन, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, तेक्वान्दो सुटिङ, पौडी र जुडो खेलमा हुने गरेको छ ।

(ग) सन् १९८० को मस्को ओलिम्पिकमा कति जना नेपाली खेलाडीले भाग लिएका थिए?

सन् १८८० को मास्को ओलम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिए ।

(घ) नेपालले ओलिम्पिक खेलमा पाएको सफलताको स्तर कस्तो छ?

नेपालले ओलम्पिक खेलमा पाएको सफलता ऐतिहासिक एवं उत्साहवर्द्धक छ ।

१०. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरेर सारांश लेख्नुहोस्:

बुँदाहरू :
(क) थारू लोककला परापूर्वकालदेखि समाजमा प्रचलित कला भएको,
(ख) थारू लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला र गोडैनका समावेश हुनु,
(ग) थारू समाजमा पश्चिमतिर अस्टिम्की, मिथिला क्षेत्रमा कोहवर/सितुवा र बाँसबसिनी, सुदूरपूर्वमा मोखकला, सुदूरपश्चिममा सजावटी चित्र तथा मूर्ति बनाउने चलन रहेको,
(घ) पूजाआजा र विभिन्न संस्कारजन्य अवसरमा चित्र बनाइन्छ र प्रस्तर, काठ तथा सेरामिक मूर्तिकलामध्ये सेरामिक कलाको बढी प्रयोग हुनु ।

सारांश :

थारू लोककला

थारू लोककला परापूर्वकालदेखि समाजमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका प्रचलित कलामध्ये एक हो। यसमा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला र गोडैनका आदि पर्छन्, जसमा विशेष गरी चित्र र मूर्तिकला बढी प्रचलित छन्। थारू समाजमा पश्चिमतिर अस्टिम्की, मिथिला क्षेत्रमा कोहवर/सितुवा र बाँसबसिनी, सुदूरपूर्वमा मोखकला र सुदूरपश्चिममा सजावटी चित्र तथा उद्घृत मूर्ति बनाउने चलन प्रचलित छ। पूजाआजा र विभिन्न संस्कारजन्य अवसरमा विभिन्न चित्र बनाइन्छन् र प्रस्तर, काठ तथा सेरामिक मूर्तिकलामध्ये सेरामिक कलाको बढी प्रयोग हुने गर्दछ।

अनुच्छेदमा भएको शब्दसङ्ख्या : २३३
एक तृतीयांशमा हुने शब्दसङ्ख्या : ७७.६
सारांशमा भएको शब्दसङ्ख्या : ७६



भाषातत्व


१. तलको तालिकामा दिइएका प्रत्यक्ष कथन र अप्रत्यक्ष कथनका वाक्य पढ्नुहोस् । प्रत्यक्ष कथनका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्दा भएका कार्य 'प्रक्रिया' शीर्षकअन्तर्गत दिइएका छन्, तिनका बारेमा पनि हेक्का राख्नुहोस् र माथिको पाठबाट प्रत्यक्ष कथनमा रहेका पाँचओटा वाक्य टिप्नुहोस् :

(क) “त्यसपछि के के गर्नुभयो ? कसरी यस क्षेत्रमा आउनुभयो ?” मैले उत्साहपूर्वक सोधँ ।
(ख) “चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानको परिकल्पना चाहिँ कसरी गर्नुभयो ?" मैले सोधैँ ।
(ग) “यो कामबाट चाहिँ सन्तुष्ट हुनुहुन्छ ?” मैले सोधैँ ।
(घ) मैले छिरिङलाई सोधें, “तपाईंहरुका प्रतिस्पर्धी त थपिँदै छन् नि । यसबाट तपाईंहरुलाई घाटा हुँदैन ?"
(ङ) मैले आजको अन्तिम प्रश्न भन्दै उनलाई सोधें, “उद्यम गर्न चाहनेहरुलाई के सुझाव दिनुहुन्छ ?”

२. माथिको तालिकामा दिइए जस्तै दिइएको अनुच्छेदमा प्रयुक्त प्रत्यक्ष कथनलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

एक पटक एक जना विद्वान् दार्शनिक एरिस्टोटलकहाँ गए। उनलाई देखेर एरिस्टोटलले उनी किन त्यहाँ आएको भनेर सोधे। विद्वान्ले आफू एरिस्टोटललाई पढाउने गुरुबारे जान्न चाहेर आएको बताए। एरिस्टोटलले किन आफ्ना गुरुका बारेमा जान्न चाहेको भनेर सोधे। त्यसपछि विद्वान्ले आफू उहाँसँग भेट गर्न चाहेको बताए। एरिस्टोटलले विद्वान्ले आफ्ना गुरुसँग भेट गर्न नसक्ने बताए। त्यसपछि विद्वान्ले उनका गुरु यस संसारमा छैनन् कि भनेर सोधे। एरिस्टोटलले भने उनका गुरु यस संसारमा सधैं रहने र कहिल्यै नमर्ने बताए। विद्वान्ले त्यसको अर्थ आफूले नबुझेको बताए। त्यसपछि एरिस्टोटलले संसारमा रहेका सबै मूर्खहरू नै आफ्ना गुरु भएको र संसार रहेसम्म मूर्खहरू पनि रहने बताए। विद्वान्ले फेरि किन मूर्खलाई गुरु बनाएको भनेर सोधे। एरिस्टोटलले दुर्गुण कस्ता हुन्छन् भनेर बुझ्नका लागि आफूले त्यसो गरेको बताए। त्यसपछि विद्वान्ले आफू दुर्गुणका बारेमा जान्न चाहेको बताए। एरिस्टोटलले आफूले सबैभन्दा पहिले आफ्नै दुर्गुण त्याग्न चाहेको बताए। अन्त्यमा विद्वान्ले अब आफू जाने अनुमति मागे र एरिस्टोटलले जान अनुमति दिए।

३. दिइएको संवाद पढ्नुहोस् र त्यसमा आएका कथनलाई अप्रत्यक्ष कथनमा परिवर्तन गरेर एउटा अनुच्छेद तयार पार्नुहोस्:

निर्देश पढ्ने कोठामा बसेर किताब मिलाइरहेका बेला उनका बुबा त्यहाँ आए। बुबाले छोरालाई उसले भात खायो कि भनेर सोधे। निर्देशले आफूले भात खाइसकेको बताए। त्यसपछि बुबाले उसलाई त्यस दिन विद्यालय छिट्टै जान आग्रह गरे। निर्देशले किन छिटो जानु पर्ने भनेर सोधे। बुबाले आज पानी पर्न सक्छ जस्तो लागेको बताए। त्यसपछि निर्देशले आफूले झोलामा छाता राखेको जानकारी दिए। बुबाले छाताले थेग्न नसक्ने गरी पानी पर्न सक्ने भएकाले छिट्टै जान भनेको बताए। केही समयपछि निर्देशले आफू विद्यालय जान अनुमति मागे र बुबाले उसलाई राम्रोसँग जान भने। त्यसपछि निर्देश विद्यालयतर्फ प्रस्थान गरे।

४. दिइएको अनुच्छेदबाट अप्रत्यक्ष कथनमा रहेका चारओटा वाक्य खोज्नुहोस् र तिनलाई प्रत्यक्ष कथनमा बदल्नुहोस् :

(क)
अप्रत्यक्ष कथन: तेन्जिङले निमासँग पुस्तकालय जाने प्रस्ताव राख्यो ।
प्रत्यक्ष कथन: तेन्जिङले भन्यो, “निमा, हामी पुस्तकालय जाऔँ।”

(ख)
अप्रत्यक्ष कथन: रतियाले आफू पनि पुस्तकालय जान चाहेको बताई ।
प्रत्यक्ष कथन: रतियाले भनिन्, “म पनि पुस्तकालय जान चाहन्छु।”

(ग)
अप्रत्यक्ष कथन: दोर्जेले उनीहरूसित पुस्तकालय आउनुको प्रयोजन सोध्यो ।
प्रत्यक्ष कथन: दोर्जेले सोध्यो, “तिमीहरू किन पुस्तकालय आएका हौ?”

(घ)
अप्रत्यक्ष कथन: उनीहरूले नेपालको लोक संस्कृति र साहित्यका बारेमा शोधखोज गर्न आएको बताए ।
प्रत्यक्ष कथन: उनीहरूले भने, “हामी नेपालको लोक संस्कृति र साहित्यका बारेमा शोधखोज गर्न आएका हौँ।”

७. शुद्ध बनाई पुनर्लेखन गर्नुहोस् :

गत शनिबार बिहान रिमरिम उज्यालो हुँदै गर्दा म कोटेश्वरबाट सोलु दुधकुण्ड जाने माइक्रोबसमा चढेँ। बस भक्तपुर, धुलिखेल, नेपालथोक, खुर्कोट, घुर्मी, हिलेपानी, ओखलढुङ्गा, ठाडे हुँदै बेलुका ४ बजे सोलुसल्लेरी पुग्यो।